युभेन्ट्स र एसी रोकियो, इन्टरको जित
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले बराबरी खेलेको छ । गएराति भएको खेलमा युभेन्ट्सले टोरिनोसँग २-२को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई खेलमा फर्काए । ४६औं मिनेटमा सानाब्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।
यो बराबरीसँगै चौथो स्थानमा रहेको युभेन्टसले २८ खेलबाट ५६ अंक जोडेको छ । टोरिनो २४ अंक जोडेर १७औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा एसी मिलान पनि बराबरीमा रोकिएको छ । मिलानले साम्पडोरियासँग १-१को बराबरी खेलेको हो । दोस्रो स्थानमा रहेको मिलानले २९ खेलमा ६० अंक जोडेको छ । साम्पडोरिया ३६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
शीर्षस्थानको इन्टर मिलानले जित हात पारेको छ । इन्टरले बोलोग्नालाई १-०ले पराजित गरेको हो । इन्टरको ६८ अंक छ भने बोलोग्ना ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस