काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए ।

थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमथि संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पारे ।

‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन, यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो’, उनले भने । संसदभित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो ।