एजेन्सी - घरेलु टोली भारतले बंगलादेशमाथि डे नाइट दोस्रो टेष्ट क्रिकेटमा एक इनिङ्स र ४६ रनको जित हात पारेको छ ।

कोलकत्ताको इडेन गार्डेन्समा आइतबार भएको खेलमा बंगलादेश १ सय ९५ रन जोड्दा अलआउट भएपछि भारतले एक इनिङ्समै जित निकालेको हो ।बंगलादेशका लागि दोस्रो इनिङ्समा मुस्फिकर रहिमले ७४ रन जोडेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । यस्तै ममुदउल्लाहले ३९ रन जोडे ।

बलिङतर्फ भारतका उमेश यादवले ५ विकेट लिए । यस्तै इशान्त शर्माले ४ विकेट लिए ।यस अघि पहिलो इनिङ्समा बंगलादेशले १ सय ६ रनमा बनाएको थियो । बंगलादेशका लागि शादमन इस्लामले २९ रन बनाए । यस्तै रिटायर्ट हर्ट भएका लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा उमेश यादवले ३ विकेट लिए ।

पहिलो इनिङ्समा बंगलादेशलाई सस्तैमा अलआउट गरेको भारतले आफ्नो इनिङ्समा ३ सय ४७ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

यस्तै चेतेश्वर पुजाराले ५५ तथा अजिन्का रहानेले ५१ रन बनाए । बंगलादेशका अल मिन होसेन र इबाडट होसेनले ३र३ विकेट लिए ।यो सँगै भारत लगातार चार टेष्टमा खेलमा एक इनिङ्समा जित निकाल्ने र लगातार सात पटक इनिङ समाप्तिको घोषणा गर्ने पहिलो टिम बनेको छ । यसअघि इङ्ल्याण्डले सन् २००९ मा लगातार ६ पटक इनिङ समाप्तिको घोषणा गरेको थियो ।

 यता, खेलमा विराट कोहलीले पनि नयाँ किर्तिमान बनाएका छन् । उनी लगातार सात टेस्ट जित्ने पहिलो भारतीय कप्तान बनेका छन् ।