काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको उपचारमा आएका संक्रमितहरुलाई उपचारपूर्व धरौटी रकम लिने निर्णय फिर्ता लिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलिने जानकारी दिएको हो ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने पनि अस्पतालले जनाएको छ । अस्पतालका अनुसार धरौटी रुकमको अभावमा कुनै पनि विरामीलाई सेवाबाट बञ्चित गरिएको छैन ।

अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो तर, आइतबार स्वास्थ्य मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो ।