काठमाडौं - नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् । उनले विज्ञप्ती जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी हुन् । 

यस्तो छ उनको सन्देशः

नयाँ वर्ष २०७८ सालको सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।  नयाँ वर्षलाई  विगतको समीक्षा गर्ने तथा आगतको आकांक्षा मुखरित गर्ने अवसरका रुपमा हामीले स्वागत गर्दै आएका छौं । 

२०७७ साललाई राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिन्छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा सहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूको बिचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूहहरू सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु गत सालका महत्त्वपूर्ण राजनीतिक उपलब्धीहरू हुन् । 

यसका साथै, संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरिनु, विश्व खुसी प्रतिवेदन-२०२१ मा नेपाललाई दक्षिण एसियाको सबैभन्दा खुसी मुलुकको रूपमा उल्लेख गरिनु, कोभिड-१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण मृत्युदरलाई अन्य मुलुकको तुलनामा न्यून राख्न सफल हुनु, समयमै कोरोनाविरुद्धको खोप अभियानको थालनी हुनु जस्ता कुरा पनि गत सालका सकारात्मक उपलब्धीहरू हुन् । तथापि कोरोनाको कहर हाम्रा सामु अझैँ चुनौतिको रूपमा उभिएकै छ । कोभिड-१९ विरुद्धको खोप क्रमशः सबै नागरिकका लागि उपलब्ध हुँदै जानेछ । कोरोनाभाइरसको संक्रमणबाट बच्न पूर्व सावधानीका उपायहरू अवलम्बन गर्दै दैनिक व्यवहारिक जीवन जारी राख्नका लागि म सबैलाई आह्वान गर्दछु । 

यसैगरी, कोरोना कहरको बिचमै रानीपोखरी, दरबार हाईस्कूल लगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सम्पन्न हुनका साथै चीर प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण सुरु गरिनुलाई २०७७ सालका उल्लेखनीय सामाजिक आर्थिक उपलब्धीको रूपमा लिन सकिन्छ ।  

समयरूपी नदी निरन्तर बगिरहेको छ । समयको प्रवाहलाई कसैले रोक्न सक्दैन । जुन राष्ट्रले अमूल्य समयको अधिक उपयोग गर्न सके, ती राष्ट्रले सामाजिक आर्थिक विकासका शिखर चुमेका छन् । हामीले पनि समयको महत्त्वलाई आत्मसात् गर्दै विकासको प्रक्रियामा तीव्रतम रूपमा अगाडि बढ्नु पर्दछ । तसर्थ हामीले नयाँ वर्षलाई स्वागत गरिरहँदा समयको प्रवाहलाई खेर नफाल्ने दृढ संकल्प गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।  

ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात भौतिक पूर्वाधार एवं मानव संसाधनको विकास गर्दै सामाजिक आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको छ । प्रगतिको गतिलाई जनताका अपेक्षासँग समानान्तर रुपले अघि बढाउनु नै हाम्रो राष्ट्रिय लक्ष्य हुनुपर्दछ । त्यसैले, यो समय यत्तिमै चित्त बुझाएर बस्ने बेला होइन, बरु नेपाल सरकारको समृद्धिको अभियानमा सक्रिय सहभागिता जनाउँदै अघि बढ्ने अवसर हो भन्ने मलाई लाग्दछ । 

अन्तमा, पूर्वाधारको पनि पूर्वाधारको रूपमा रहेको शिक्षा, अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको कृषि, समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको आधारको रूपमा रहेको औद्योगिक विकास र दिगो आर्थिक विकासको मानकको रूपमा रहेको वातावरण संरक्षण जस्ता विषयमा उच्च प्राथमिकताका साथ अग्रसर हुन सम्बद्ध सबैमा नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।