काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

सेभियाको मैदानमा भएको खेलमा आत्मघाती गोलबाट रियल विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, खेलको ५६ औं मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे । रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यहिँ गोल रियलको जितमा निर्णायक बन्यो ।

जितसँगै रियलले ११ खेलमा २० अंक जोडेको छ । रियल लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । पराजित सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।