काठमाडौं - सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथिको बहस सकिएको हो । बहस पूरा भएसँगै भट्टलाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतले आदेश दिनेछ।

भट्टका बुबा चतुर्भुज भट्टले असोज ७ गते छोराको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए। त्यसपछि गत साउन २७ गते विशेष अदालत काठमाडौंले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

भट्ट हाल सिन्धुपाल्चोक कारागारमा छन्। केही समयअघि उनलाई नख्खु कारागारबाट स्थानान्तरण गरी सिन्धुपाल्चोक पुर्‍याइएको थियो।