काठमाडौं - हलिउड अभिनेता जोनी डिप निजी जीवनको विवादले करिअर धक्का लागेको छ । निजी जीवन विवादमा फस्न थालेपछि पेशागत रुपमा उनलाई घाटा हुन भएको छ । ‘पाइरेट्स अफ द क्यारेबियन’, ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’, ‘इडवार्ड सिजरह्यान्ड’ लगायत थुप्रै चर्चित चलचित्रमा काम गरेका उनको करिअर हलिउडमा संकटमा परेको छ । उनी पूर्वश्रीमती तथा अभिनेत्री एम्बर हर्डसँगको कानुनी लडाइँ र बेलायती पत्रिकासँग मानहानी मुद्दाका कारण उनको केही वर्षयता अभिनय करिअरमा धक्का लाग्दै आएको छ ।

सन् २०१५ मा अभिनेता जोनी र अभिनेत्री एम्बरले विवाह गरेका थिए । एक वर्षमै अभिनेत्री एम्बरले जोनीलाई घरेलु हिंसाको आरोप लगाइन् र उनीहरुको सम्बन्धविच्छेद भयो । प्छि अदालतबाट कानुनी रुपमा उनीहरुको मुद्दा मेलमिलापमा टुंगियो । यसपछि अभिनेत्री एम्बरले सामाजिक सञ्जालमार्फत जोनीबारे नराम्रो कुरा बाहिर ल्याउन थालिन् । सार्वजनिक रुपमा आफूलाई बदनाम गरेको भन्दै जोनीले एम्बरविरुद्ध ५० मिलियन अमेरिकी डलर क्षतिपूर्ति माग राखी मुद्दा हाले । यस्तै, जोनीलाई श्रीमती पिट्ने व्यक्ति भनेर सन् २०२० मा एक बेलायती पत्रिकाले लेख्यो । सो पत्रिकाविरुद्ध उनले मानहानीको मुद्दा दायर गरे । अदालतले निवेदन खारेज गरेपछि जोनीले त्यही वर्ष मुद्दा हारे । कानुनी परीक्षणको हारले गर्दा उनी ठूलो समस्यामा फसे ।

विवादका कारण हलिउड बिस्तारै उनीबाट टाढा हुन थाल्यो । उनको आगामी चलचित्र ‘फ्यान्ट्यास्टिक बिस्ट’ को काम छोड्न दबाव पर्यो । आफ्नो व्यक्तिगत जीवनबारे बाहिर खासै नबोल्ने उनी आजकल चलचित्र क्षेत्रले उनलाई बहिष्कार गर्न खोजिरहेको जिकिर गरेका छन् । अभिनेता जोनीले सन्डे टाइम्सको कुराकानीमा वाचा गरेको कुरा नतोडेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले यी मानिसको आँखामा हेरेर शोषण नगर्ने र चलचित्र सम्मानजनक हुने प्रतिज्ञा गरेका छौं । मलाई विश्वास छ हामीले वाचा गरेको कुरा तोडेका छैनौं र पछि आउनेले पनि यो कुरा कायम राख्नु पर्छ ।’

कानुनी विवादले उनको पछिल्लो चलचित्र ‘मिनामाता’ लाई पनि असर पारिरहेको छ । उक्त चलचित्रले बेलायतमा साम्रै स्थान पाए पनि अमेरिकामा प्रदर्शन मिति अझै तय हुन सकेको छैन । उनले भनेका छन्, ‘केही चलचित्रले दर्शकको मन छुन्छ र मिनामाताका दर्शक यो अनुभवबाट वञ्चित भइरहेका हुनसक्छन् । हलिउडले भने मजस्तो व्यक्ति, जोकेही वर्षदेखि अप्रिय र नराम्रो स्थितिमा फसिरहेको छ, उसलाई बहिष्कार गर्न खोजिरहेको छ ।’ अभिनेता जोनीले आफ्नो लक्ष्य हासिल गर्न बाहिरी विवादलाई झेलेर अघि बढिरहने बताएका छन् । उनले भने, ‘म सबै कुरा मिलाउन एउटै बाटोमा हिँडिरहेको छु र चाँडै उज्यालो ल्याउन खोजिरहेको छु ।’