काठमाडौं - राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा साविक विजेता एपीएफ विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले जारी लिगमा तेस्रो जितसमेत निकालेको छ ।

खेलको २७ औं मिनेटमा अन्जलीले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । साबित्रा भण्डारीको पासमा अन्जलीले गोल गरेकी हुन् ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सरुले गोल गर्दै एपीएफलाई २-० को जित दिलाईन् ।

जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।