काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेका छन्।

उपराष्ट्रपति पुनले बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको दाबी गरेका हुन्। ‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ। प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ’, उपराष्ट्रपति पुनले भने, ‘पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन्। यो राम्रो संकेत होइन।’ 

अन्नपूर्ण पोष्ट दैनिकबाट