काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले संविधानको सुन्दर तरिकाले व्याख्या गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै भट्टराईले हत्या हुनै लागेको संसद जोगाइदिएको बताएका हुन् । ‘सर्वोच्च अदालतको आदेश मैले पटक–पटक पढेँ,  सबैले पढौं । मैले त हार्डकपी नै राखेको छु । संविधानको व्याख्या सुन्दर तरिकाले दिएको छ ’ उनले भनेका छन्, ‘ पटक–पटकको संसद विघटनले संविधानको मृत्यु हुँदै थियो । प्रतिगमनतिर देश गएकै थियो, यसबाट बचाउन काम भएको छ ।’ 

 त्यस्तै, भट्टराईले गत पुस ५ पछिका सबै परिघटनाहरूलाई ठूलो अपराधको संज्ञा दिएका छन् । ‘पुस ५ गतेदेखि जेठ ८ गतेसम्मका घटना अशोभनीय रहेको भन्दै अध्यादेशबाटै शासन चलाउने कुरा लोकतान्त्रिक अभ्यास हुन सक्दैन ।’ उनले भनेका छन् ।