काठमाडौं - अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर शनिबार इद उल फित्र पर्व मनाउँदै छन् ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार, नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बताए ।

आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरिबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

आजभन्दा एक महिनाअघिदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो व्रत गरिने उनले बताए ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म व्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो । यसै अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।