काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट अन्तर्गत प्रदेश सभातर्फको सिट बाँडफाँट आज शनिवार टुंग्याइँदैछ ।

प्रतिनिधिसभा सिट बाँडफाँट टुंग्याएको गठबन्धनले प्रदेश सभाको बाँकी छलफल शनिवार गर्ने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ । यसका लागि अब १ दिन मात्र बाँकी रहेकाले पनि शनिवार बिहानै सहमतिलाई अन्तिम रूप दिने तयारी गरिएको छ । 

जसपा गठबन्धनबाट बाहिरिएपछि २ ठूला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि छलफल गरिरहेका छन् । लोसपा पनि शनिवारको गठबन्धन बैठकमा सहभागी हुनसक्ने जनाइएको छ ।

शुक्रवारको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।