काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

अध्यक्ष प्रचण्ड शुक्रबार साँझ बुढानिलकण्ठस्थित देउवा निवास पुगेका हुन् । उनीहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ । उक्त भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति तय गर्नमा केन्द्रित रहेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन यही २७ गते संसद बैठक बोलाएका छन् । त्यसलाई असफल बनाउन विपक्षी दलहरु लागिपरेका छन् । देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेको छ भने माओवादीले पनि सरकारबाट समर्थन फिर्ता लिइसकेको छ । यस्तै, भेटवार्तामा देउवा र प्रचण्डबीच राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनबारे पनि छलफल भएको स्रोतले बताएको छ । 

विश्वासको मत दिन, ‘अर्ली इलेक्सन’ र सहकार्य गर्ने प्रस्ताव लिएर गत बुधबार प्रधानमन्त्री ओलीसहित एमाले नेता देउवालाई भेट्न उनको निवास पुगेका थिए । त्यस्तै, बिहीबार मात्र ओलीसँग असन्तुष्ट रहेको एमालेकै नेपाल पक्षका नेता माधवकुमार नेपाल र भीम रावल ले पनि देउवालाई भेटेका थिए ।