‘कोरोना खोपले केही असर गर्दैन ढुक्क भएर लगाउनुस्’
काठमाडौं - भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरु गर्नुभएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन्।
साथै डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना विरुद्धको खोपप्रति सर्वसाधारणमा विभिन्न आशंका भएकाले आफूले पहिलो खोप लगाएको निर्देशक राजभण्डारीले बताए ।
कोरोना खोपले आफूलाई केही असर नगरेकाले ढुक्क भएर लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी डा. रमेश कोइरालाले पनि कोभिड खोपको पहिलो डोज बिना कुनै शंका, बिना कुनै डर लगाइयो भन्दै ट्विटरमा तस्विर सार्वजनिक गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाएपछि खोप अभियान सुरु भएको हो । अहिले विभिन्न खोप केन्द्रमा खोप लगाउने अभियान सुरु भैसकेको छ ।
सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस