काठमाडौं - भ्रष्टाचार विरोधी युवा अभियन्ता एवम् खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कुशल खेलाडी ध्वजमान मुक्तानले सर्लाही १ बाट चुनाव जित्ने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिएका मुक्तानले राजनैतिक दल र तिनका कार्यकर्ताको कार्य शैलीबाट आजित भएका जनताले योग्य, सक्षम र समाज परिवर्तनको योजना भएको व्यक्ति खोजिरहेको हुनाले आफ्नो जित निष्चित रहेको बताएका हुन् ।

सर्लाही क्षेत्र नम्बर १ माकेन्द्रमाभएको सहमतिअनुसार सत्तारुढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राम प्रकाश चौधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा)का प्रमोद साह भन्द ास्वतन्त्र उम्मेदवारलाई स्थानीय जनताले बढी रुचाएको नेकपा एमालेका एक स्थानीय नेताले बताए । गठबन्धन गरेर चुनावीअभियानमा रहेपनिकांग्रेस र एमालेकाकार्यकर्ताहरु नै असन्तुष्ट रहेको हुँदाजनताहरुको रोजाई स्वतन्त्रतर्फ रहेको कांग्रेसका नेताहरु नै बताउँछन् ।

उता सर्लाही– १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् । 

को हुन भ्रष्टाचार विरोधी युवा अभियन्ता तथा खेलाडी  ध्वजमान मुक्तान ? 

पूर्णजीवन खेलकुदमा समर्पण गरेका मुक्तान आठौँ साफ गेममा कराँतेतर्फबाट स्वर्ण पदक विजेता खेलाडी हुन् भने पश्चिम जापान कराते प्रतियोगिताको दुई पटकको च्याम्पियन हुन् । विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका मुक्तानले १० वर्ष जापानमा प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

वि.सं.२०६१/२०६२ सालमा नै जापानमा प्रशिक्षण गराउँदा मासिक ७ लाख हाराहारीको सेवा–सुविधा त्यागेर व्यक्तिगत जीवनमात्र सफल भएर नहुने महसुस भएको हुँदा समग्र विकासको लागि समाज नै परिवर्तन गर्नुपर्ने अठोटका साथ नेपाल फर्किएर त्यसैअनुरुप काम गरेको उनी बताउँछन् । गोरखा दक्षिणबाहु र अन्य विभिन्न सम्मान–पदवी एवं पुरस्कार विजेता मुक्तान अपांग, असाह्य, गरीब र निमुखाहरुको हक अधिकारलाई स्थापित गराउनु पर्छ उनीहरुलाई प्रथमिकतामा राखेर राज्यले उनीहरुलाई सम्बोधन गराउन आफू कटिबद्ध भएर लागिपर्ने बताउँछन् ।

भ्रष्टाचारको विरोधी मुक्तानले २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ करोड घुष लिएको सार्वजनिक गरेका थिए । उक्त घुष काण्डपछि अख्तियारको प्रमुख आयुक्त हुने लाईनमा रहेको पाठकले २०७५ साल फागुन ३ गते राजीनामा दिएका थिए ।

राजनैतिक दलभित्र मौलाइरहेको बेथिति र नीतिगत भ्रष्टाचारले राजनैतिक दलका कार्यकर्ता र तिनका नजिकका आफन्त केन्द्रीत राज्यको सेवा सुविधा उपभोग गर्ने परिपाटीको विकास हुँदा आम सर्वसाधारणको दैनिकीमा कुनै परिवर्तन नआएकाले सुशासन र सुब्यवस्था स्थापनाको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

भ्रष्टाचारमुक्त समाज निर्माण, खेल र खेलमार्फत स्वास्थ्यलाई मजबुद बनाउने, कृषिमा आधुनिकीकरणको साथै कृषकको आयस्तर बढाउने, प्राविधिक तथा व्यवसायिक शिक्षा अंगीकार गर्ने, समुदायभित्रको जातीय, लैंगिक, धार्मिक विभेदहरुको अन्त्य गर्न अगुवाई गर्दै समतामुलक र सहिष्णु समाजको निर्माण गर्ने, समाजका प्रतिष्ठित तथा विशिष्ट व्यक्तित्वहरुको ज्ञान सीपको सदुपयोग गर्दै उनीहरुको समाजमा सम्मानित स्थान निर्माण गर्नेलगायतका प्रतिवद्धताका साथ चुनावी माहोलमा हेामिएका मुक्तानले आफ्ना प्रतिवद्धता एवं योजनाहरुमा जनताको पूर्ण साथ र समर्थन रहेकोले पनि आफ्नो जित हुनेका ढुक्क रहेको बताउँछन् ।

‘सत्ता प्राप्तिको लागि जोड घटाउको हिसाव गर्दै आएका विभिन्न राजनैतिक दलहरुको गठबन्धनको असली उद्देश्य र आलोपालोको भित्रि रहस्य थाहा पाइसकेका नेपाली जनता अब झुक्किने अवस्था छैन ।’ मुक्तानले भने, ‘दलीय नेतृत्व र उनीहरुको अकर्मण्यताले लामो कालखण्डमा भएका व्यवस्था परिवर्तनबाट पनि जनताको अवस्थामा परिवर्तन गर्न सकेन र त्यसको लागि विधिको शासन, समतामुलक एवं स्वस्थ समाज निर्माणमा भ्रष्टाचारमा शुन्य सहनशीलता नै मेरो मुख्य लक्ष्य हो ।’