काठमाडौं- नेपाली कांग्रेसले रसुवा बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको पार्टी बैठकले नेता–कार्यकर्ताबाट संकलित रकमसहित पार्टीका तर्फबाट एकमुष्ट १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
चालिसेका अनुसार पार्टीका तहगत कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा पार्टी सदस्यहरूलाई पार्टीको विपद् कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरिएको छ। बैठकले बाढी तथा पहिरो प्रभावित जिल्लाका पार्टी नेतृत्व र सदस्यहरूलाई हराइरहेका नागरिकको खोजी, प्रभावित परिवारको सुरक्षित स्थानान्तरण तथा राहत वितरणमा सक्रिय रूपमा परिचालित हुन निर्देशन दिएको छ।
यसैगरी, स्थानीय तह तथा विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय र सहकार्य गरी राहत तथा उद्धारलाई प्रभावकारी बनाउन पनि पार्टीले आग्रह गरेको छ। प्रभावित क्षेत्रबाहिर रहेका जिल्लाका नेतृत्व तथा जनप्रतिनिधिलाई बाढीमा परेका परिवारलाई आवश्यक सहयोग तथा परामर्श उपलब्ध गराउन निर्देशन दिइएको छ। साथै, केन्द्रीय सदस्य तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिलाई प्रत्येक गाउँपालिका तथा नगरपालिकाका वडास्तरसम्म सम्पर्क गरी प्रभावित परिवारको विवरण संकलन गर्न निर्देशन दिइएको छ।

.gif)


