काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि खटिएको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार टोलीले आज दिउँसो २ बजे सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको हो।

उक्त प्वालबाट उद्धारकर्मीहरू डोरीको सहायताले ‘र्‍यापेल’ गर्दै सुरुङको तल्लो भागसम्म पुगेका थिए। तर, भित्र पसेर पटक–पटक आवाज दिँदा र बोलाउँदा पनि सुरुङभित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। भित्रबाट प्रतिक्रिया नआएपछि प्वाललाई थप फराकिलो बनाउने र सुरुङभित्रको अवरोध हटाउने काम अघि बढाइएको छ। यसका लागि ठूला उपकरण परिचालन गर्नुका साथै आवश्यक परे ब्लास्टिङ गर्ने तयारीसमेत भइरहेको छ।

उद्धार कार्यमा इन्जिनियरसहित नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी ९० जना सुरक्षाकर्मी तथा प्राविधिक खटिएका छन्। भोटेकोशी बाढीपछि परियोजनाको सुरुङमा उच्च विज्ञसहित काम गरिरहेका करिब ४०–४२ जना फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ ।