काठमाडौं - रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ ।

जेठको अन्तिम दिन आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् भने ६११ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय, बेलहियाले जानकारी दिएको छ ।

कोरोना महामारीका कारण भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम जारी रहेको बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ ।

बेलहिया प्रहरीका अनुसार यो नाकाबाट भित्रिएका अधिकांश रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, स्याङ्जा, कपिलवस्तु, पोखरा, बाग्लुङ्लगायत जिल्लाका रहेका छन् ।

बेलहिया नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयमा गन्तव्यमा पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रदेश ५ मा बेलहिया नाका भएर सबैभन्दा धेरै नागरिक ओहोरदोहोर गर्छन् । प्रदेश ५ भरि अहिलेसम्म २० हजार ५५९ को कोरोना परीक्षण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २७ हजार ७४१ को स्वाब सङ्कलन गरिएकोमा सात हजार १८३ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश ५ मा अहिलेसम्म एक हजार ५१९ काेराेना सङ्क्रमित भेटिएका छन् भने ५४६ जना निको भएर घर फर्केका छन् । हाल ९६७ जनाको उपचार जारी छ भने सात जनाको मृत्यु भएको छ ।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेको र आपसी समन्वयमा नेपाल ल्याउने गरिएको प्रहरीको भनाइ छ । 

गोरखापत्र दैनिकबाट