काठमाडौं - काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताएका छन् । उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए । प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ उनले भने ।

अनुसन्धाता सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालका अनुसन्धान प्रमुख समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि भएको बताए । ‘ढलमा कोरोना भाइरस देखिनुले काठमाडौं उपत्यकाको समुदायमा नै कोरोना फैलिएको छ भन्ने प्रमाण दिएको छ, यसले उपत्यकामा परीक्षण व्यापक बनाउन आवश्यक रहेको जनाउँछ ।’ यो अध्ययनको नतिजाले तीन वटा महत्वपूर्ण सन्देश दिएको जनस्वास्थ्य वैज्ञानिक दीक्षित बताउँछन् ।

पहिलोः समुदायमा संक्रमण छ/छैन भन्ने अलमलको अन्त्य ।

दोस्रोः यति धेरै केसहरु हुँदा पनि अधिकांश संक्रमितलाई लक्षण नभएको सकरात्मक पाटो ।

तेस्रोः सतर्कता अपनाउनको लागि विश्वसनीय संकेत ।

यो अध्ययनले समुदायमा संक्रमण भएको प्रष्ट पारेको भन्दै जोखिम समूहका मानिसहरुलाई बचाउनु पर्ने डाक्टर दीक्षित बताउँछन् । सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने उनको दाबी छ । यो अध्ययनको दायरा बढाएर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गर्ने डाक्टर दीक्षितले बताए ।