काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले जनताले दिएको जिम्मेवारीअनुसार परिणाम दिन नसके अर्को ‘भदौ २३’ आउन सक्ने संकेत गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पर्यटन बोर्डको हलमा रास्वपाले राखेको कार्यक्रममा बोल्दै लामिछानेले रास्वपाले कामबाट आफूलाई प्रमाणित गर्न नसके गत ‘भदौ २३ र २४’ को जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका हुन्।
'गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो। सरकार दुई तिहाइको थियो, शक्तिशाली दुई पार्टी सरकारमा थिए। कसले छुन सक्थ्यो र ? २३ आइपुग्यो नि। हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै युवा भनेर पनि नहुने अवस्था आउन सक्छ,' लामिछानेले भने ।
उनले रास्वपाले आफ्नो जिम्मेवारी पूरा गर्न नसके केही वर्षमै ‘अनुभव नभएका युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने भाष्य स्थापित भएर युवामाथिको राजनीतिक विश्वास नै कमजोर हुने पनि चेतावनी दिएका छन्।
'यदि कुनै पनि कारणले हामीले हाम्रो जिम्मेवारी पूरा गर्न सकेनौँ भने तुरुन्तै, सम्भवतः केही वर्षभित्रै एउटा भाष्य बन्नेछ कि युवाबाट रहर गरेर नहुने रहेछ, अनुभव नभएका मान्छेहरूबाट राजनीति सम्भव नहुने रहेछ भन्ने वातावरण सिर्जना हुन सक्छ,' उनले भने।
त्यस्तो अवस्था आए त्यसको सबैभन्दा ठूलो असर परिवर्तनका लागि अघि बढेको युवा पुस्तामाथि पर्ने लामिछानेको भनाइ थियो।
त्यसैले उनले युवाको नेतृत्व स्थापित गर्न सफल भएको भन्दै मात्रै उत्सव मनाउनेभन्दा त्यसलाई ठोस परिणाममा बदल्नुपर्ने बताए।

.gif)


