काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमाका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

अस्पतालले विगत लामो समयदेखि स्वास्थ्य बीमा बोर्डबाट उपचार खर्च भुक्तानी नआउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै आगामी माघ १ गतेदेखि सेवा बन्द गर्न लागेको हो ।

अस्पतालले मासिक करिब ५ करोड रुपैयाँ खर्च व्यहोर्दै आएकोमा बीमा बोर्डले मात्र ५० प्रतिशत दाबी स्वीकृत गरिरहेको बताइएको छ । विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पताल प्रशासनको भनाई छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी बाँकी छ । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरे बापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ ।

बोर्डले टिचिङ अस्पताललाई मात्रै करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । तर, सरकारबाट अनुदान नै नपाएपछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन नसकेको बताएको छ ।

यस्तै बोर्डले वीर अस्पताललाई ४० करोड, पाटन अस्पताललाई करिब ४२ करोड, विपन्न नागरिक औषधि उपचार कोष (कडा रोग लागेका बिरामीलाई १ लाखसम्म सहयोग) जोडिएपछि थप २५ करोड भुक्तानी गर्न बाँकी छ ।

वि.सं. २०७७ सालदेखि अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मुलुककै प्रमुख शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि सयौं बिरामीहरुमा यसको मारमा पर्ने देखिन्छ ।

भुक्तानी नपाएका अरु अस्पतालहरूले पनि स्वास्थ्य बीमा कार्यक्रम केही हप्ताभित्रै बन्द गर्ने चेतावनी दिएका छन् ।