काठमाडौं - प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ ।

जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभागले हालका लागि उक्त व्याचका औषधिको बिक्रीवितरण रोक्ने तयारी गरेको छ ।

गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये तीन जनामा एकै प्रकारको संक्रमण देखिएको थियो । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।

त्यस्तै अस्पतालले संक्रमणको स्रोत पत्ता लगाउनका लागि शल्यक्रियामा प्रायो भएका औषधि लगायत सबै वस्तु, औजार तथा शल्यक्रियाकक्षब्बाता नमूना संकलन गरेर अनुसन्धान शुरू गरेको थियो ।

तीनमध्ये एक महिलामा एनएमसीमै उपचाररत छिन् भने दुई जनालाई उपचारार्थ मेडीसिटी अस्पताल भर्ना गरिएको छ ।

अनुसन्धानबाट त्यहाँ प्रयोग गरिएको ब्याक्टेरियाको संक्रमणविरुद्ध उपयोग हुने मेट्रोनिडाजोल सस्पेन्सन र रिंगर ल्याक्टेट नामक सलाइनमा खराबी रहेको पत्ता लागेको अस्पतालका मेडिकल निर्देशक डा. राजकिशोर श्रेष्ठले बताएका छन् ।
कान्तिपुर दैनिकबाट