काठमाडौं - नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केपी ओलीले जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका हुन् । 

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा औपचारिक धारणा बनाउन सोमबार बसेको दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका हुन् । 

‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।