काठमाडौं - नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतबाट १२ जना महिलालाई उद्धार गरेको छ ।

ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतबाट १२ जना महिलालाई उद्धार गरेको जानकारी गराएको छ ।

नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुर्‍याई दुबईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा ती महिलाहरुलाई उद्धार गरिएको ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

उद्दार भइ आएका महिलाहरूमध्ये २०देखि ३० वर्ष उमेर समूहका २ जना,३१ देखि ४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्।

नेपालबाट भारत लैजाने क्रममा जोगमनी,काकडभित्ता,जमुनाह,सुनौलिलगायतका नाकाहरू प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।