काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया डर्टमण्डमाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले  डर्टमण्डलाई ४-२ ले पराजित गरेको हो । 

बायर्नको जितमा  रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक प्रहार गरे भने  लियोन गोर्टेज्काले एक गोल गरे । डर्टमण्डका लागि अर्लिङ हालाण्डले २ गोल गरे । बायर्नको मैदानमा खेलको दोस्रो मिनेटमा नै हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । 

तर, त्यसपछि बायर्न खेलमा फर्कियो ।  २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने कोसिस गरे । ४४ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत बायर्नलाई बराबरीमा ल्याए । त्यसपछि ८८ औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बायर्नलाई पुनरागमन अग्रता दिलाए । ९० औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्न ४-२ले विजयी बन्यो । 

जितसँगै शीर्षस्थानमा रहेको बायर्नले २४ खेलमा ५५ अंक जोडेको छ । पराजित डर्टमुन्ड भने २४ खेलमा ३९ अंकसहित छैटौं स्थानमा छ ।