एजेन्सी - युरोपा लिग अन्तर्गत गएरातिको खेलमा जर्मन क्लब इन्ट्राक्ट फ्राङ्कफर्टसँग पराजित भएसँगै आर्सनलले प्रशिक्षक उनाई इमेरीलाई बर्खास्त गरेको छ। इमेरीको प्रशिक्षणमा आर्सनलले पछिल्ला सात खेलमा जित निकाल्न नसकेसँगै क्लब व्यवस्थापनले उनलाई शुक्रबार बर्खास्त गरेको हो।

आर्सनलले सन् १९९२ पछिकै सबैभन्दा खराब प्रदर्शन गरेपछि इमेरीले १८ महिनामै पद गुमाएका हुन्।  घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पिएरे एमरिक अबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए पनि दोस्रो हाफमा दुई गोल खाँदै पराजित भएपछि इमेरीको पद जाने अनुमान गरिएको थियो। 

खेलमा पराजित भएसँगै एमिरेट्स स्टेडियममै समर्थकहरुले ‘इमेरी आउट’ भन्दै चर्को नाराबाजी गरेका थिए। समर्थकको चर्को विरोधसँगै इमेरकी पद जाने अनुमान गरिएको थियो। 

लामो समयदेखि गतिलो उपाधि उचाल्न नसकेको आर्सनल इङ्लिस प्रिमियर लिगको पनि आठौं स्थानमा खुम्चिएको छ। युरोपा लिगमा अन्तिम ३२ मा पुग्ने पक्का भएपनि इमेरीको कमानमा लगातार सात खेलमा आर्सनलले जित निकाल्न सकेको थिएन। स्पेनिस क्लब सेभिल्ला र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका पूर्वप्रशिक्षक इमेरीलाई बर्खास्त गरेसँगै अन्तरिम प्रशिक्षकका रुपमा फ्रेडाई जुङ्गबर्गले जिम्मेवारी पाएका छन्।