एमसीसी कार्यान्वयनमा ल्याउन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं - देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझाएको हो । मोर्चाका संयोजक सिपी गजुरेलले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आफुहरुले एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको बताए । त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएको संयोजक सिपी गजुरेलले बताए ।
संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश हुने र नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताए । उनले ५५ अर्ब पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्ने काम सरकारले गर्न लागेको बताए । त्यस्तै उनले सरकारले नेपालको नयाँ नक्सा जारी गर्न नसकेको तथा आफ्नो जमिनमा अधिकार स्थापित गर्न सरकारले नै चासो नदेखाएको आरोप समेत लगाए ।
फेसबुक पेज Like गर्नुहोस