काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । 

आजको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता समीकरण र एमालेतर्फ लागेका नेतामाथि कारबाही प्रक्रियालगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ । 

शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । यस्तै, एमालेतर्फ लागेका २३ नेतालाई पार्टी परित्याग गरेको हो अथवा होइन जानकारीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

माओवादीका ती २३ नेतालाई शुक्रबार मात्र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन् । एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम स्वतः गुम्ने देखिएको छ ।