काठमाडौं - स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा विकसित मेघगर्जन, चट्याङसहित वर्षा गराउने बादलका कारण मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भइरहेको हो ।

उक्त प्रणाली उत्तर–पूर्वतिर सर्दै गएकाले अझै केही दिन हावाहुरी, मेघगर्जन, चट्याङ, असिनाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा रहेको जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही अपराह्नपश्चात् पहाडी भू–भागका केही स्थानमा र पश्चिमी तराईका एक–दुई स्थानमा हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पश्चिमका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केही एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा एक दशमलव छ मिलिमिटर वर्षा भएको छ । यस्तै पोखरामा दुई दशमलव दुई, धरानमा दुई दशमलव तीन, जोमसोममा एक दशमलव पाँच र जिरीमा दुई मिलिमिटर वर्षा भएको छ ।