काठमाडौं -  सिरी ए अन्तर्गत हिजो राति भएको खेलमा जित निकाल्दै इन्टर मिलान सिरी एको शीर्ष स्थानमा उक्लिएको छ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुको उत्कृट प्रदर्शनमा नेपोलीलाई पराजित गर्दै मिलान पुनः शीर्षस्थानमा फर्किएको हो ।

इन्टरले नेपोलीलाई उसकै मैदानमा ३–१ को जित निकाल्दै युभेन्टसलाई पछि पारेको हो । इन्टरले १८ खेलबाट ४५ अंक पुगेको छ भने बराबरी खेल खेलेको युभेन्टसको पनि ४५ अंक रहेको छ । तर युभेन्टस गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । स्टेडियो सान पाउलो नेपोलीमा सोमबार राति भएको खेलमा इन्टर मिलानको जितमा रोमेलु लुकाकुले दुई तथा लोउटारो मार्टिनेजले एक गोल थपे ।

नेपोलीका एर्काडिअस मिलिकले एक गोल थपे जसकारण पहिलो हाफमा ३ तथा दोेस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

खेलको १४औं मिनेटमा नै लुकाकुको गोलबाट इन्टर मिलान अघि बढेको थियो । ३३औं मिनेटमा लुकाकुले मार्सेलो ब्रोजोभिकको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानलाई खेलमा २–० ले अघि बढाए ।

लुकाकु यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन् । उनले इन्टरमा उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । उनले इन्टरबाट १८ खेल खेल्दा १४ गोल गरिसकेका छन् ।