काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशरभरिका सामुदायिक कलेज चल्न नसक्ने स्थिति भएको भन्दै मर्जर प्रक्रियाअघि बढाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै उनले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे । उनले शिक्षा मन्त्रालयले असान्दर्भिक र बुझ्न नसक्ने विषयलाई अघि बढाएको बताए ।

श्रम र कृषिसँग शिक्षाको महत्त्व भएको भन्दै उनले प्राविधिक शिक्षाले पुलको काम गर्ने बताए । सांसद पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे ।

शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै उनले मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भए पनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको उल्लेख गरे । उनले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए ।