‘ओलीले बनाएको संसदीय बोर्डमा बस्दैनौँ’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलले बनाएको संसदीय बोर्डमा नबस्ने घोषणा गरेका छन् ।
शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु बोर्डमा नबस्ने बताएका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा यसअघि बसेको संसदीय दलको बैठकले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित २७ सदस्यीय बोर्ड गठन गरेको थियो । जसलाई वरिष्ठ नेता नेपालले अस्विकार गरेका हुन् ।
‘हामी दुई जना बबुरोलाई कृपादृष्टि पुर्याएर संसदीय बोर्डमा राख्ने काम भएछ । तर, हामी त्यसमा बस्दैनौं । बोर्ड वैधानिकरुपमा गठन हुनुपर्यो ।’ उनले भने । सर्वोच्चको फैसला अनुसार एमालेलाई ७५ साल जेठ ३ गतेको अवस्थामा नफर्काएसम्म पार्टीको कुनै निर्णय नमान्ने उनको भनाइ छ ।
यस्तै, नेता नेपालले आफूहरू केपी शर्मा ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको पनि बताएका छन् । आफूहरूको ४८/४९ वर्षको माया पिरती एक रातमै नसकिने उनको भनाई छ । ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको पनि उनले आरोप लगाए ।
फेसबुक पेज Like गर्नुहोस