काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे ।

खेलमा तीन वटै गोल दोस्रो हाफमा भएको थियो । ५५ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६७ औं मिनेटमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा लिड्सको अग्रता २-० को बन्यो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा बामफोर्डले ह्याट्रिक पुरा गर्दै लिड्सलाई ३-० को सानदार जित दिलाए । बामफोर्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक हो ।

जितसँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित निकालेको लिड्सले ६ खेलमा १० अंक जोडेको छ । एस्टनले ५ खेलमा १२ अंक जोडेको छ । एस्टन लिगको दोस्रो स्थानमा यथावत रहेको छ ।