काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुनः मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरिरहेकाे बेला मतदाता नामावली संकलन सुरू भएकाे हाे ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने आयोगले जनाएकाे छ । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउन समेत सकिने छ । साथै कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि आयोगले जनाएकाे छ ।

त्यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ ।