काठमाडौं - पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो ।

पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’

पुस १४ गते नै कपिलवस्तुमा ओली समूहका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘प्रचण्डको आरोपपत्र फिर्ता हुन्छ भने पार्टी एक हुने सम्भावना रहन्छ ।’ यही कुरा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि भनिरहेका छन् । पुस १५ गते प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका नेताहरूले काठमाडौंमा गरेको भेलामा भने, ‘उहाँहरू आउनुहुन्छ र चुनाव लडेर अध्यक्ष लिनुहुन्छ भने म नेतृत्व छोड्न तयार छु ।’

शुक्रबार राष्ट्रिय सभामा नेकपा सचिवालय सदस्यसमेत रहेका दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यू प्रतिनिधिसभा विघटन गलत थियो भनेर आत्मआलोचनासहित आउनुहुन्छ भने नयाँ सिलसिला सुरु हुन्छ ।’ आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफैं भए । दुवै पक्षका नेकपा नेताहरूको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ रु

पार्टीको सिद्धान्तभन्दा पनि पदीय भागबन्डा नमिलेर नेकपा विभाजनको आधार खडा भएकाले त्यसमा अलिकति मात्र मिहिनेत गरे पार्टी एक हुन सक्ने आकलन गौतमको छ । उनले एकरदुई दिनमै अभियानका ५ सय ५१ सदस्य र एकताको आधारपत्र सार्वजनिक गर्ने उनको अभियानमा सहभागी नेता हरि पराजुलीले बताए । उनका अनुसार ती सबै नेकपाकै नेता–कार्यकर्ता हुन्, कतिपय केन्द्रीय सदस्य छन् । 

कान्तिपुर दैनिकबाट