काठमाडौं - सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलवार दुवै पक्षको बहसपछि तत्काल पौडेललाई हटाउने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । यो आदेशसँगै निर्देशक डा.पौडेल पुनर्वहाली हुनेछन् ।

मन्त्रालयले डा. पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो । 

मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए ।