महरेजको ह्याट्रिकमा सिटीको सानदार जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।
बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैटौं मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
४१ औं मिनेटमा मेन्डीले गोल गरेपछि पहिलो हाफमा सिटी ३-० ले अघि रह्यो । मेन्डीको यो सिटीका लागि पहिलो गोल समेत हो । खेलको ६६ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो । यससँगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी बनेका छन् ।
यस अघि याया टोरेले सन् २०१४ मा सिटीका लागि ह्याट्रिक गरेका थिए । जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस