काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष–२०७७ ले कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय एकता प्रदर्शन गर्न नेपालीहरुलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले महामारी नियन्त्रण हुने बताएका छन् । त्यसपछि मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने उल्लेख गरेका छन् ।

कोभिड–१९ विरुद्धको संघर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने भएकाले त्यस कार्यमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो रहेकामा जोड दिए ।

जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने नेपालीहरुको  विगत उपराष्ट्रपतिले स्मरण गरेका छन् ।

उपराष्ट्रपति पुनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले चालेका कदममा साथ दिन पनि सबैमा अपिल गरे ।