काठमाडौं - मलयालम चलचित्र अभिनेत्री सरन्या शशीको ३५ वर्षको उमेरमा निधन भएको छ । सोमबार तिरुवनम्तपुरमको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत मेमा कोरोना संक्रमण निको भएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

भारतीय सञ्चारमाध्यमले उनी केही वर्षदेखि ब्रेन ट्युमर रोगबाट पीडित भएको उल्लेख गरेका छन् । उनको केही पटक अप्रेसनसमेत गरे पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन ।

अभिनेत्री सरन्यालाई सन् २०१२ मा ब्रेनट्युमर देखिएको थियो । ट्युमरपछि उनको चलचित्र करिअर ओरालो लागेको थियो । तर उनी क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालेकी थिइन् । उनले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् ।