काठमाडौ - इजरालयमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपालका विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतार सरकारले जनाएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले गरेको शिष्टाचार भेटवार्तामा जोशीको रिहाइबारे कुराकानी भएको छ । कतारको राजधानी दोहामा उहाँहरूबीच आज साेमवार शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन विशेष अनुरोध गर्नुभएको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको मित्रवत् सम्बन्धका आधारमा यो मानवीय मामिलामा कतारसँग नेपाल सरकारले उच्च आशा गरेको बताउनुभयो ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको थियो । उहाँले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गर्नुभयो ।

हिजो आइतवारदेखि शुरु भएको २१ औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा पनि जोशीको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको थियो । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास भैरहेको जवाफ दिनुभएको थियो ।