नेपाल किर्गिस्तानसँग बराबरीमा रोकियो
काठमाडौं - थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग बराबरी खेलेको छ ।
बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
यसको प्रत्यक्ष फाइदा बंगलादेशलाई भएको छ । एक खेल अगावै बंगलादेश प्रतियोगिताको फाइनलमा पुगेको छ । अघिल्लो खेलमा कीर्गिस्तानलाई बंगलादेशले १-० ले पराजित गरेको थियो । नेपालले अब अन्तिम खेलमा हार टारेमात्र पनि फाइनलमा स्थान पक्का गर्नेछ ।
नेपाली टोलीले अर्को खेल चैत १४ गते बंगलादेशसँग खेल्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच चैत १६ गते फाइनल हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस