विमल घर्तीमगर सहित फूटबल टिमका ४ खेलाडी बर्खास्त
काठमाडौं - राष्ट्रिय फुटबल टीमका चार खेलाडीलाई कुवेत सँग हुने खेलबाट हटाइएका छन् । डिफेन्डर दिनेश राजवंशी, मिडफिल्डरद्वय अञ्जन विष्ट तथा सन्तोष तामाङ र फवार्ड बिमल घर्तिमगरलाई टोलीबाट हटाइएको छ ।
सन् २०२२ को विश्वकप र २०२३ को एसियाकप छनोट खेल्न भुटान जाने टोलीबाट अनुशासन बिपरीत काम गरेकाले टीमबाट हटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले बताए ।
प्रवक्ता राईकाअनुसार, भुटान प्रस्थानका लागि तयारी हुनुपर्ने खेलाडीहरु रातभर नाइट क्लबमा गएका थिए । “अनुशासन बिपरीत गतिविधि गरेकाले उनीहरुलाई भुटान जाने टीमबाट हटाइएको छ”, प्रवक्ता राईले भने ।
'उनीहरुलाई तत्काललाई कुवेत विरुद्धको खेलबाट हटाइएको छ । के कार्बाही गर्ने भन्ने अध्यक्ष नेपाल आए पछि निर्णय हुन्छू, राईले भने ।
राष्ट्रिय टीमबाट चार जना हटाइएपछि कुवेत सँग खेल्ने खेलाडी चयन गर्ने अधिकार कोचलाई नै दिइएको प्रवक्ता राईले बताए । पूर्व घोषित टीममा सुवास गुरुङ थपिएका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेत सँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो । दशरथ रंगशालाको पुनर्निर्माण भइनसकेकाले नेपालले आफ्नो होम खेलमा भुटानमा खेल्दैछ ।
फेसबुक पेज Like गर्नुहोस