काठमाडौं - नेपाल सरकारले लगाएको प्रतिबन्ध उल्लंघन गर्दै विभिन्न देशबाट आएका ६३ नेपालीलाई शनिबार १४ दिनका लागि क्वारेन्टाइनमा लगिएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले युरोपका सबै मुलुक, पश्चिम एसिया, खाडीका मुलुक, इरान, टर्की, दक्षिण कोरिया र जापानबाट आउने स्वदेशी तथा विदेशीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

तर, विभिन्न विमान कम्पनीहरुले नेपाल सरकारले लगाएको प्रतिबन्धको वेवास्ता गर्दै ५ महिलासहित ६३ नेपालीलाई काठमाडौं पुर्‍याएका थिए ।

उनीहरुलाई शनिबार साझा यातायातका २ वटा बसमा राखेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको छ ।