काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।

बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको हो। मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्याग पठाएको छ ।

मन्त्रालयले रसुवामा भने यसअघि नै हेलिकोप्टरमार्फत खोप पठाइसकिएको जनाएकाे हाे। यहि भदाै २५ गते बिहीबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएको हाे।

मन्त्रालयले यस समयमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।