काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिई आफैँले बैठक चलाएका छन्।
सोमबार ललितपुरको भनिमण्डलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले उद्घाटन मन्तव्य राखेपछि सामान्यतया महासचिव पोखरेलले बैठक सञ्चालन गर्ने अपेक्षा थियो। तर ओलीले महासचिवलाई बैठक सञ्चालनको जिम्मेवारी नदिई आफैँ बैठक अघि बढाएका हुन्। एमालेको राजनीतिक इतिहासमै पहिलो पटक यस्तो भएको एक नेताले दाबी गरेका छन्। अध्यक्ष ओलीको निर्णयप्रति कृष्णगोपाल श्रेष्ठले बैठकमै उठेर विरोध जनाएका छन्।
उभिएर विरोध जनाउँदै श्रेष्ठले भने, ‘नेकपा एमालेको विधान पढ्नुस्, यसरी विधानलाई मनलाग्दी चलाउन पाइँदैन।’ बैठकमा अध्यक्ष ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्ने नेताहरूप्रति समेत आक्रोश पोखेका छन्।
पार्टीभित्रको आन्तरिक बहस र अनुशासनको सीमा नाघेर सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्ने प्रवृत्तिको विरोध गर्दै ओलीले भने, ‘पार्टीभित्रको बहस पार्टीभित्र र कमिटीभित्र छलफल हुन सक्छ। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो रु’
उनले पार्टीका विषयमा असहमति भए कमिटीमै छलफल गर्नुपर्ने भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएर पार्टीको प्रतिष्ठा कमजोर पार्ने काम स्वीकार्य नहुने बताए। ‘तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। बाहिर गएर जग हँसाउने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने र विपक्षीलाई खुसी बनाउने छुट कसैलाई छैन,’ ओलीले भने।

.gif)


