काठमाडौं - एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार टियु क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमै समेटियो ।

पुलिसका लागि पवन सर्राफले ४० रन बनाए । यस्तै, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन जोडे ।

पुलिसलाई सस्तैमा समेट्न भुवन कार्कीले ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । यस्तै, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए ।

कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।