काठमाडौं - त्रिभुवन आर्मी क्लबले श्रीलंकन पुलिस क्लबविरुद्ध शानदार जित निकालेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले कमब्याक गर्दै ५–१ गोलको जित निकालेको हो ।

श्रीलंकन पुलिस क्लबका लागि इभान्स असान्तेले २८ औँ मिनेटमा गोल  गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसपछिको खेलमा आर्मीले गोलको वर्षा नै गर्यो । खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सन्तोष तामाङ, सुदिल राई र टंक बस्नेतले एक एक गोल गरे । 

सन्तोषले ४१ र दोस्रो गोल नवयुगले ४३ औँ मिनेटमा गरेका थिए। ५० औँ मिनेटमा टंकले गोल थपेका थिए। ८४ औँ मिनेटमा सुदिलले गोल गरेपछि आर्मीको जित सहज बनेको थियो। नवयुगले इन्जुरी समयको अन्तिम मिनेटमा गोल थपेका थिए।

जितसँगै आर्मी एएफसी कप फुटबलको छनोटअन्तर्गत दोस्रो चरणमा पुगेको छ। आर्मीले दोस्रो चरणमा अब भारतको बेंगलरु फुटबल क्लबसँग खेल्ने छ। यो खेल आगामी अप्रिल १४ तारिखमा हुने छ।