काठमाडौं,एजेन्सी -  बेल्जियमसँग २-० गोलले पराजित भएपछि इङ्ल्याण्ड नेसन्स लिग फूटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ।

खेलको अधिकांश समय बल नियन्त्रणमा राखेको इङ्ल्याण्डले गोल गर्न भने सकेन। उल्टै दुई गोल बेहोरेपछि फाइनलमा छनौट हुन सकेन।

बेल्जियमका लागि लेस्टर सिटीका खेलाडी योरी टिलेम्यान्सले १०औँ मिनेटमा नै गोलको खाता खोलेका थिए। ड्रिस मेर्टेन्सले २४औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै दुई गोलले अगाडि बढाए। थप गोल हुन नसकेपछि इङ्ल्याण्ड फाइनमा पुग्न सकेन।

यही समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई पराजित गरेको छ। यो समूहमा बेल्जियम शीर्षस्थान र डेनमार्क दोस्रो हुँदा इङ्ल्याण्ड तेस्रो स्थानमा खुम्चियो।

अरु खेलमा इटालीले पोल्याण्डलाई २-० ले पराजित गर्दै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ। उसका लागि जोर्गिन्होले पेनाल्टीबाट २७औँ मिनेटमा गोल गरे भने अर्को गोल ८४औँ मिनेटमा डोमेनिको बेरार्डीले गरेका थिए।