‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंला’ : स्वास्थ्यमन्त्री ढकाल
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।
सोमबार नियमित पत्रकार सम्मेलनमा नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका हुन् ।
हाल सबैको ध्यान कोरोना भाइरसको संक्रमण फैलिन रोक्नु भएको भन्दै उनले बाँकी कुराहरुको बहस पछि गर्न आग्रह गरेका छन् । ‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंला ।’ उनले भने ।
कोरोना रोक्न मन्त्रालयले रणनीतिहरुलाई परिस्कृत र परिमार्जन गरिरहेको बताउँदै मन्त्री ढकालले परीक्षणको दायर पनि बढाइएको बताएका छन् ।
स्थानीय,प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेको क्वारेन्टाइनका साथै होम क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण चिकित्सकहरुको सल्लाह अनुसार भइरहेको भन्दै उनले आउने दिनमा टेस्टिङलाई फराकिलो बढाउँदै जाने बताए ।
यस्तै, मन्त्री ढकालले कोरोनाको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताएका छन् । आज मात्रै नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको संख्या १४ पुगेकाे छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस